सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयद्वारा आगजनी

सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयद्वारा आगजनी

सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित भई ठक्कर दिने टिपरमा आगजनी समेत गरेका छन्।

बुधबार राति ८ बजे जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय  सचिन साह गुप्ता गुप्तालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई राति ९ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनापछि चालक फरार भएको र टिपर घटनास्थलमै रहेको जानकारी पाएपछि स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरुले टिपर हटाउन अवरोध सिर्जना गरेका थिए। प्रहरीको टोलीले सम्झाउने प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे भीडले ट्रिपरमा आगजनी गरेका थिए। आगलागीपछि टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।