समानुपातिक सूचीमा जेनजी प्रतिनिधिहरूको खबरदारी

समानुपातिक सूचीमा जेनजी प्रतिनिधिहरूको खबरदारी

राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमाथि जेनजी प्रतिनिधिहरूले विरोध जनाएका छन्।

पिछडिएका समुदायको आवाज प्रतिनिधिसभामा सुनियोस् भनेर समानुपातिकको व्यवस्था गरिएको भए पनि यसलाई नातेदारहरूको भर्ती केन्द्र बनाइएको भन्दै उनीहरूले टिप्पणी गरेकी छन्।

जेनजी प्रतिनिधहरू रक्षा बम, भावना राउत र तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भएको बताएकी छन्।

उनी लेख्छिन्, 'सदियौंदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौंदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो। दुखद कुरा चाहिँ, हिजो हजारौंको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।'