विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा, प्रचण्ड भन्छन्- बाँकी कार्यभार पूरा गर्न कटिबद्ध छु
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड’ले विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि अपिल गरेका छन् ।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै उनले भनेका छन्, “आज नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु ।”
प्रचण्डले थपेका छन्, “शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो । अहिले 'जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन् । शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ ।”
नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको सशस्त्र द्वन्द्वलाई संस्थागत गर्ने क्रममा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड र नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच बृहत् शान्ति सम्झौता भएको आज १९ वर्ष पुगेको छ ।



थर्ड पोल 