वैदेशिक रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष फर्केर कार्यपालिका बैठकमा आएपछि..

वैदेशिक रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष फर्केर कार्यपालिका बैठकमा आएपछि..

एक वर्ष पहिले ऋण तिर्न भन्दै विदेश गएका एक जना वडाध्यक्ष स्वदेश फर्किएका छन्।

दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरूङ एक साताअघि बेलायतबाट फर्किएका हुन्।

अघिल्लो साउन १७ गतेदेखि लागू हुने गरी एक जना वडा सदस्यलाई कार्यवाहक दिएर उनी रोजगारीको खोजीमा बेलायत गएका थिए। 

अघिल्लो साउन २० गते बेलायतका लागि उडेका उनी एक वर्षभन्दा बढी समय बेलायत बसेर तिजमा स्वदेश फर्केका हुन्।

घर फर्किएपछि उनी बिहीबार वडा कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेर उनले पहिले जस्तै सेवाग्राहीको काम गरेका थिए। शुक्रबारै उनी कार्यपालिका बैठक पनि पुगे। 

उनी पुगेकै कारण कार्यपालिका बैठक नै स्थगित हुन पुग्यो। कतिपय कार्यपालिका सदस्यहरूले उनको उपस्थितिबारे फरक मत राखेका थिए। 

‘यो त जनप्रतिनिधिको नैतिकता नै भएन, कहिले विदेश जाने कहिले आउने यस्तो मनपरी गर्न मिल्दैन भन्दै कतिपय कार्यपालिका सदस्यले विरोध जनाउनुभयो,’ एक जना कार्यपालिका सदस्यले भने, ‘त्यसपछि केही होहोल्ला भयो र बैठक नै बस्न सक्ने अवस्था नरहेपछि कार्यपालिका नै स्थगित भयो।’

वडाध्यक्ष गुरूङ कार्यपलिका बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न समय दिइएको थियो।