विद्याको इन्ट्रीले किन दुख्यो देउवाको मुटु ?
देउवा र प्रचण्डको हुँदाखाँदाको लालजोडी अचानक टुटेपछि समयले अर्को लालजोडी जुटाइदियो– उनै देउवा र ओलीको । अहिले यो लालजोडी खुब जुटेको छ, सत्ता, सत्ता अनि सत्ताका लागि ।
खुब प्यार छ, सत्ताका लागि । खुब डर छ, सत्ता यताउता होला कि भन्ने । कहिलेकाहीं बाहिरफेर पात हल्लिन्छ, लालजोडी स्पष्टीकरण दिन्छन्, अहँ सत्ता केही हुन्न । केही हुनेवाला छैन । हल्लिनेवाला छैन । दायाँबाट बायाँ सुम्पिएको सत्ता समय आएपछि बायाँबाट दायाँ सर्छ । बस्, हुने यत्ति हो ।
कतिसम्म भने लालजोडीका एक सदस्यको पार्टी अध्यक्ष पद गुम्ने हो कि भन्ने पीर–चिन्ताले अर्का सदस्यको मुटु खान्छ । रातभर निद्रा लाग्दैन । त्यस्तो किन भयो होला ? कुरा ‘ओपन सेक्रेट’ जस्तै छ ।
खासमा विद्या भण्डारीले पूर्वराष्ट्रपतिको सेवा, सुविधा त्यागेर राष्ट्र र जनताका लागि सारा जीवन समर्पण गर्ने उद्घोष गरेर आफ्नो पूर्व पार्टी नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेपछि बालुवाटारमा भन्दा ठूलो भुइँचालो बूढानीलकण्ठमा गएको रहेछ । त्यो भुइँचालोको धक्का सानेपासम्म कति पुगेको छ ? समयले बताउने छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विद्यालाई राजनीतिमा आउन नदिन एमाले अध्यक्ष केपी ओलीसँग साउती मारेको घटनाले नै राजनीतिमा विद्याको इन्ट्रीले देउवा कति छटपटीमा रहेछन् भन्ने छर्लङ्ग भएको छ ।



थर्ड पोल 