लोकतान्त्रिक मोर्चाले भन्यो– मधेशको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखले अशोभनीय व्यवहार देखाउनु लज्जाको विषय

लोकतान्त्रिक मोर्चाले भन्यो– मधेशको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखले अशोभनीय व्यवहार देखाउनु लज्जाको विषय

संघीय लोकतान्त्रिक मोर्चाले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखले अशोभनीय व्यवहार देखाउनु लज्जाको विषय भएको बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक मोर्चाले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएको हो। 

मोर्चाले प्रदेश प्रमुखले संविधान विपरीत र लोकतान्त्रिक मूल्य मान्यताको खिलापमा झुट, फरेब र धोकाधडीको सहारा लिई अशोभनीय व्यवहार देखाउनु सभ्य समाजका लागि लज्जाको विषय भएको बताएको छ। 

मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,ʻसंविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउने आधार हुँदाहुँदै बदनियतपूर्ण तरिकाले दलको कार्यकर्ता झैँ प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्ति गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले यसको घोर भर्त्सना गर्दछौँ। उपचार गराउने नाममा भाग्नु र कटेजमा शपथ खुवाउने कार्यले संघीयता, लोकतन्त्र र संविधानको घोर अपमान गरेको छ। यसर्थ संवैधानिक र लोकतान्त्रिक विधि प्रक्रियाबाटै सबै समस्याहरूको समाधान खोज्न सबै पक्षलाई आग्रह गर्दछौँ।ʼ