रास्वपाको अडान: ‘पुरानो सत्ताको नैतिक औचित्य सकियो, अब ताजा जनादेश अपरिहार्य’
मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट सोबिता गौतम र स्वर्णिम वाग्लेले सहभागिता जनाए। करिब चार घण्टा चलेको बैठकमा रास्वपाले वर्तमान एमाले–कांग्रेस गठबन्धनलाई चरम कुशासन र अहङ्कारको प्रतीक ठहर गर्दै त्यसको वैधता समाप्त भइसकेको कुरा राखेको थियो।
वाग्लेका अनुसार भाद्र २३ को जेन-जी शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको नरसंहारपछि पुरानो सत्ताको नैतिक र राजनीतिक औचित्य सकिएको र त्यसैले ताजा जनादेश अब अपरिहार्य बनेको रास्वपाको अडान हो। उनका शब्दमा, ‘हामी संविधानको मर्यादाभित्र रहेर नयाँ जनादेशको माग गर्दैछौँ। प्रतिनिधिसभाको नयाँ निर्वाचन छ महिनाभित्र सम्पन्न हुनुपर्छ, तर राष्ट्रिय सभाको स्थायी स्वरूप कायम रहनुपर्छ, ताकि प्रतिगमनको सम्भावना टाढा रहोस्।’
रास्वपाले सुशील कार्की नेतृत्वको सरकारप्रति सद्भाव रहेको तर समर्थन अनिश्चितकालीन हुन नसक्ने चेतावनी दिएको छ। वाग्लेका अनुसार, सुशासनका लागि बनेको सरकारले आफ्नो वैधताको स्रोत निरन्तर खोजिराख्नुपर्छ, जसका पाँच आधार रास्वपाले पहिल्यै तय गरिसकेको छ — इमानदार निर्वाचन तयारी, भ्रष्टाचारविरुद्ध कडा कदम, आर्थिक सुधार, गुणस्तरीय विकास, र सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध।



थर्ड पोल 