रवि लामिछाने भेट्न कारागार पुगे रास्वपाका ९ जना आकांक्षी

रवि लामिछाने भेट्न कारागार पुगे रास्वपाका ९ जना आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का ९ जना आंकाक्षी पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। 

उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल सभापति लामिछाने भेट्न आइतबार बिहान नख्खु कारागार पुगेका हुन्।

रास्वपाले आइतबार उम्मेदवार टुंगो लगाउँदैछ। त्यसअघि उनीहरूले सामूहिक रूपमा पार्टी सभापति लामिछानेलाई भेटेका हुन्।

प्राइमरी इलेक्सनबाट छानिएका उम्मेदवार अनुमोदन गर्न रास्वपाले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही–३ को उम्मेदवार छनोट गरेको छ। उम्मेदवार घोषणा भने अपराह्न साढे ४ बजे पत्रकार सम्मेलनमार्फत् गरिने पनि प्रवक्ता झाले बताए।