रूपन्देही–३ मा उमाशंकर चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाउँदै रेशम
रूपन्देही–३ को उपचुनावका लागि दल निर्वाचन आयोगमा दर्ता हुन नसकेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका छन्।
संघीय लोकतान्त्रिक मोर्चाले रेशम चौधरीले उठाएकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
मोर्चाकै घटक दल जनमत पार्टीले चुनावमा कसैसँग साझेदारी नगर्ने निर्णय गर्दै अलग्गै उम्मेदवारीको तयारी गरेको छ। उसले मोर्चा चुनावी साझेदार नभएकोसमेत बताएको छ।
तथापि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील दल, राष्ट्रिय मुक्ति पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टीले भने रेशम चौधरीकै उम्मेदवारलाई साझा उम्मेदवा बनाउने निर्णय गरिसकेका छन्।
पार्टीका संरक्षक चौधरीले मोर्चाको बैठकमा सम्भावित उम्मेदवारको नामसमेत प्रस्ताव गरिसकेको बताएका छन्।
‘रूपन्देही–३ मा हामीले विद्वान, समाजलाई प्रभाव पार्न सक्ने उम्मेदवार दिन्छौं। मोर्चाको बैठकमा पिएचडी डाक्टर, त्यो पनि पनि थारू समुदायबाटै उठाउँछौं भनेर भनिसकेका छौं,’ रेशम चौधरीले भने।
टीकापुर विद्रोहले नेपाली राजनीतिमा नयाँ मानक स्थापित गरिसकेकाले रूपन्देही–३ मा जितको आधार बनिसकेको उनले बताए। मोर्चाको साथले अझ स्पष्ट बनेको उनको भनाइ छ।



थर्ड पोल 