रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले भन्यो- प्रधानमन्त्रीले स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्छ

रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले भन्यो- प्रधानमन्त्रीले स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्छ

जेनजी अभियानी रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

फ्रन्टले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ।

‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमती सहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरूपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहीता र पारदर्शीता विरूद्धको प्रत्यक्ष प्रहार हो।’

साथै जेन-जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरूद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेको पनि विज्ञप्तिमा उल्लेख छ।