मेची राजमार्ग दुई हप्तापछि सञ्चालनमा आयो
गएको असोज १८ गतेको वर्षापछि पहिरोले अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्ड मर्मतपछि गएराति खुलेको हो ।
राजमार्गमा गाडी चल्न थालेका इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय इलाम, स्थानीयबासिन्दा र सुरक्षाकर्मीको लगातार दुई हप्तासम्मको प्रयासपछि सडक खुलेको डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो ।
पहिरो क्षेत्रमा ठूला गाडीहरु एकपटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन उहाँको आग्रह छ । मेची राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ पुग्ने यात्रु तथा गाडीलाई सहज भएको छ ।



थर्ड पोल 