मेक्सिकोमा देशव्यापी बन्यो जेनजीको प्रदर्शन, सडकमा निस्किए हजारौं युवा

मेक्सिकोमा देशव्यापी बन्यो जेनजीको प्रदर्शन, सडकमा निस्किए हजारौं युवा

मेक्सिकोमा हजारौं युवाहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्।

शनिबार जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्। 

राजधानी मेक्सिको सिटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त समेत बनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। 

युवाहरूले देशभरि बढ्दो हिंसा र अपराध नियन्त्रणका लागि सरकारले चासो नदिएको आरोप लगाएका छन्।

नोभेम्बर १ मा मिचोआकान राज्यको उरूआपान नगरका मेयर कार्लोस म्यान्जोको सार्वजनिक कार्यक्रममै गोली हानी हत्या भएको थियो। 

यो घटनापछि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, हिंसा भड्काएको भनेर युवाहरू आक्रोशित भएको रोयटर्सले जनाएको छ। 

उनीहरूले सामाजिक सञ्जाल 'बोट' मार्फत अभियान चलाएका थिए।

सामाजिक सञ्जालबाटै आह्वान भएको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्। 

शनिबार प्रदर्शनकारीहरू राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासमा पस्न खोजेपछि माहोल तनावपूर्ण बनेका थिए। राष्ट्रपति भवनको वरपर लगाइएका बारहरू प्रदर्शनकारीले भत्काउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।