भारत-चीन सम्बन्ध सुधार्न सी र मोदीको प्रतिबद्धता

भारत-चीन सम्बन्ध सुधार्न सी र मोदीको प्रतिबद्धता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध सुधार गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन चीन पुगेका मोदीसँग आइतबारको भेटमा सीले विश्वका सबैभन्दा बढी जनसंख्या भएका दुई देशहरूबीच मित्रता हुनुपर्छ भनेका छन्।

दुई देश असल छिमेकी बन्न सक्ने र विकासशिल र अविकसित देशहरूमा (ग्लोबल साउथ) महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पनि सीले बताएका छन्।

सीले चीन र भारतको सम्बन्धलाई फेरि पनि ‘ड्र्यागन-हात्ती नृत्य’ भनेका छन्। सांस्कृतिक रूपमा चीनलाई ड्र्यागन भनिन्छ भने भारतलाई हात्तीका रूपमा चित्रण गरिन्छ।

सात वर्षपछि चीनको पहिलो भ्रमण गरेका मोदीले दुवै देश गत वर्षदेखि सकारात्मक दिशामा अघि बढिरहेको बताए।