भिजिट भिसाको दुरुपयोग रोक्न वैदेशिक रोजगार प्रक्रिया सरलीकरण गर्नुपर्छ : पूर्व मुख्यसचिव बैरागी

भिजिट भिसाको दुरुपयोग रोक्न वैदेशिक रोजगार प्रक्रिया सरलीकरण गर्नुपर्छ : पूर्व मुख्यसचिव बैरागी

नेपाल सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीले भिजिट भिसाको दुरुपयोग बढ्नुको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियामा रहेका जटिलता र अप्ठ्याराहरू रहेको बताएका छन्।

शुक्रबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन्। उनले वैदेशिक रोजगारीको प्रक्रिया जति जटिल हुँदै जान्छ, त्यति नै मानिसहरूले भिजिट भिसा जस्तो चोर बाटो अपनाउने गरेको बताए । 

अध्यागमन प्रणाली सुधारसम्बन्धी एक उच्चस्तरीय समितिको नेतृत्व गरेका बैरागीले आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै भने, 'वैदेशिक रोजगारको प्रक्रिया सहज र सरल हुँदा भिजिट भिसाको प्रवाह कम हुने र त्यहाँको प्रक्रिया जटिल हुँदा यता (भिजिट भिसामा) चाप बढ्ने देखियो।'

उनले विभिन्न कारणले मानिसहरू भिजिट भिसा प्रयोग गर्न बाध्य भएको जानकारी दिए। सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका द्वन्द्वग्रस्त मुलुकहरू जस्तै अफगानिस्तान, इराक, लिबियामा काम पाएका नेपालीहरू श्रम स्वीकृति नपाउने भएपछि युएई जस्ता कुनै ट्रान्जिट मुलुकसम्म पुग्न भिजिट भिसाको सहारा लिने गरेको भनाइ छ।
युरोपमा कामको अवसर पाएर वर्किङ भिसा प्राप्त गरिसकेका नेपालीहरूले समेत यो बाटो अपनाउनु परेको उनले बताए।