बालेन साहको चुनाव खर्च १४ लाख १७ हजार

बालेन साहको चुनाव खर्च १४ लाख १७ हजार

झापा–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बालेन साहले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्। साहले निर्वाचनमा जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका हुन्। उनले सार्वजनिक गरेको विवरणअनुसार चुनावी अभियानका क्रममा सबैभन्दा बढी खर्च घरदैलो कार्यक्रममा भएको उल्लेख गरिएको छ।

आयोगमा बुझाइएको खर्च विवरणअनुसार घरदैलो तथा प्रचार–प्रसार कार्यक्रम सञ्चालनका लागि करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको देखिएको छ। त्यस्तै चुनावी कार्यालय सञ्चालन, प्रचार सामग्री छपाइ, यातायात, स्वयंसेवक व्यवस्थापन, मतदाता प्रशिक्षण कार्यक्रम तथा कार्यालय व्यवस्थापनलगायत शीर्षकमा पनि खर्च गरिएको उल्लेख छ।

साहले बुझाएको विवरणअनुसार चुनावी कार्यालय सञ्चालनका लागि भाडा, स्टेशनरी तथा प्रचार सामग्री उत्पादनमा पनि उल्लेख्य रकम खर्च गरिएको छ। यसबाहेक मनोनयन दर्ता, नमुना मतपत्र छपाई, प्रचार सामग्री वितरण, पोस्टर तथा पर्चा छपाइ, तथा अन्य प्रशासनिक व्यवस्थापनका शीर्षकमा समेत खर्च भएको देखिन्छ।

फागुन २१ गते भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै बालेन प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।