बिर्तामोडमा ‘इको म्युजिक फेस्ट’ हुने, स्वर-पूर्ण राई दाजुभाइँको विशेष प्रस्तुति

बिर्तामोडमा ‘इको म्युजिक फेस्ट’ हुने, स्वर-पूर्ण राई दाजुभाइँको विशेष प्रस्तुति

 झापाको बिर्तामोडमा ‘इको म्युजिक फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ। चाहना समूह बिर्तामोड–५ र इभन एनको संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते म्युजिक फेस्ट आयोजना गरिने भएको हो। कार्यक्रममा स्वर-पूर्ण राई दाजुभाइँ ब्याण्डको विशेष प्रस्तुति रहनेछ भने गेस्ट आर्टिस्टका रूपमा अर्नभ वन सहभागी हुनेछन्।

सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जीवन भण्डारीले लागुऔषध दुव्र्यसनीमा फँसेका युवालाई समाजमा पुनःस्थापित गर्ने उद्देश्यले ‘इको म्युजिक फेस्ट’ आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार पछिल्ला वर्षहरूमा बिर्तामोड नगर क्षेत्रमा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि कार्यक्रममार्फत सचेतना फैलाउने प्रयास गरिएको हो।

“कार्यक्रमबाट बचत भएको रकम आर्थिक अभावका कारण सुधार गृह जान नसकेका युवालाई त्यहाँ लैजान प्रयोग गरिनेछ,” भण्डारीले बताए।

चाहना समूहका सल्लाहकार मदन राईले कार्यक्रम सांगीतिक मात्र नभई सामाजिक उद्देश्यका साथ गर्न लागिएको बताए। उनका अनुसार कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरिनेछ। “झापा पछिल्ला वर्षहरूमा लागुऔषधको हबजस्तो बन्दै गएको तथ्य सबैलाई थाहा छ,” उनले भने, “यसलाई नियन्त्रण गर्ने सोचका साथ हामीले यो अभियान चलाएका हौं।”