बंगलादेशमा शेख हसिनाविरुद्धको मुद्दको फैसला आज, सुरक्षा व्यवस्था कडा

बंगलादेशमा शेख हसिनाविरुद्धको मुद्दको फैसला आज, सुरक्षा व्यवस्था कडा

बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी भइरहँदा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत वर्षको हिंसात्मक विद्यार्थी आन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएसँगै हसिना भारतमा निर्वासित भएकी छन् । उनको अवामी लिग पार्टीले भने विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भनेको छ ।

अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्वगृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन् । तेस्रो अभियुक्त पूर्वप्रहरी प्रमुख राज्यको साक्षी बनेकाले उनलाई सजायको सिफारिस गरिएको छैन । यही मुद्दाको फैसला आज सोमबार सुनाइने अपेक्षा गरिएको छ ।

हसिना र पूर्वगृहमन्त्रीमाथि सन् विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गरेको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको छ । संयुक्त राष्ट्रसंघको फेब्रुअरी रिपोर्टअनुसार घटनामा १ हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ ।

गत हप्ताको बन्दपछि देशभर विस्फोट र आगजनीका घटनामा वृद्धि भएपछि न्यायाधिकरणले सोमबारका लागि फैसला तय गरेको थियो । सोमबार बिहान फैसलाको तयारी भइरहँदा अवामी लिगले पुनः बन्द आह्वान गरेको छ । हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसला बारे नर्भस नहुन’ आग्रह गरेकी छन् ।