फिर्ता गरेको गाडी गण्डकीका राप्रपा सांसदले फेरि लगे, सभामुख नै गाडीविहीन
जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै गाडी फिर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल गण्डकीका नेता पञ्चराम तमुले फेरि गाडी लिएर गएका छन् । उनले गाडी लिएर गएपछि सभामुख गाडी विहीन भएका छन् ।
जेनजी आन्दोलनपछि गण्डकीसहित सातै प्रदेशका २८ जना राप्रपा सांसदले संसदबाट बाहिरिने निर्णय भदौ २४ गते घोषणा गरेका थिए ।
गण्डकीका राप्रपा दलका नेता तमु र सचेतक विन्दु पौडेलले पनि केन्द्रको निर्णयसँगै प्रदेश सभा सचिवालयमा गाडी फिर्ता गरेका थिए । तर, राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठको विज्ञप्तिमार्फत राजीनामा दिएको घोषणा भएपछि गण्डकीका सांसदले पनि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए भने संसदलाई पनि मौखिक जानकारी गराएका थिए ।
त्यससँगै ग १ झ ४५२ नम्बरको गाडी तमुले सचिवालयलाई बुझाएका थिए । त्यही गाडी सभामुख कृष्णप्रसाद धितालले चढेका थिए । आफूले फिर्ता गरेको गाडी फेरि ३ दिन अगाडि तमुले नै लिएर गएको संसद सचिवालयले जानकारी दिएको छ ।



थर्ड पोल 