पुल्चोकसहित ५ वटा इन्जिनियरिङ क्याम्पस किन ठप्प ?

पुल्चोकसहित ५ वटा इन्जिनियरिङ क्याम्पस किन ठप्प ?

 त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूको शैक्षिक गतिविधि ठप्प भएको छ ।

केन्द्रले इन्जिनियरिङ अध्ययन संस्थानको अधिकार खोसेको भन्दै शिक्षकहरूले ५ वटा क्याम्पसको पठनपाठन रोकेका छन् ।

पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसको पठनपाठन ५ दिनदेखि ठप्प छ ।

‘इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यायलको आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार ऐन विपरीत केन्द्रले कटौती गरेकाले पठनपाठन ठप्प भएको हो । २०८० सालदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएका थियौं । सुनुवाइ नभएपछि अहिले पठनपाठन नै रोक्न बाध्य भएका हौं,’ त्रिवि प्राध्यापक संघ पुल्चोक क्याम्पसका सहसचिव रोशन कार्कीले भने ।

२०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गर्दा अध्ययन संस्थान समस्यामा परेको कार्कीले बताए ।

शिक्षक कर्मचारीले दुई बुँदे माग राखेका छन् । पहिलो माग इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित हुनुपर्ने छ ।

दोस्रो माग संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने छ । विकेन्द्रीकरणको नियम अनुसार अध्ययन संस्थानले दुई वटा तरिकाले विद्यार्थी भर्ना लिने गरेको थियो ।

‘तिमी आफैं कमाउ भनेर विकेन्द्रीकरणले दिएको अधिकार हो । त्यसैले दुई तरिकाले विद्यार्थी भर्ना लिन्छौं । एउटा रेगुलर स्किमको हो । जसमा छात्रवृत्तिको हुन्छ, थोरै पैसा तिरे पुग्छ । अर्को पूरै पैसा तिर्ने हो, प्राइभेट जस्तो हुन्छ । यसमा २० प्रतिशत त्रिविलाई पठाउनु पर्ने हुन्छ,’ कार्कीले भने ।

उनका अनुसार २० प्रतिशत त्रिविलाई पठाएपछि बचेको ८० प्रतिशत इन्जिनियरिङ अध्ययन संस्थानले आफ्नो सुदृढीकरणमा खर्च गर्न पाउने हो । तर, २०८० को सिनेटको बजेटमा कार्यकारीले तोकेभन्दाको आर्थिक अधिकार कटौती गर्ने भनेर आयो ।