प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ
प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका निकायहरूले जेन-जी आन्दोलनको भावनाअनुरूप सेवाग्राहीमैत्री प्रशासनिक सेवा प्रवाह गर्न निर्देशन दिएकी छन्।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खर्चको दर सन्तोषजनक नदेखिएको बताइन्।
उनले बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले आफ्नो जिम्मेवारी प्राथमिकताका साथ पूरा गर्न आग्रह गरिन्।
उनले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कतिपय काम प्रभावित भएको बताइन् । उनले त्यसले सरकारी काममा अवरोध नपुर्याउने गरी उच्च मनोबलका साथ लक्ष्य पूरा गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूलाई वार्षिक कार्ययोजना र माइलस्टोनअनुसार निर्धारित समयसीमाभित्र लक्ष्य हासिल गर्न निर्देशन दिइन्।
उनले आन्दोलनका कारण भएको संरचनागत क्षतिको विवरण यथाशीघ्र अद्यावधिक गरी एकीकृत प्रतिवेदन तयार गर्न पनि निर्देशन दिएकी छन् ।



थर्ड पोल 