प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता उपलब्ध गराउन सक्रिय

प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता उपलब्ध गराउन सक्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।

कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले आज सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ ।’

उनले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन् । साथै सरकारी निकायहरुले गरिरहेको उद्धारको काममा सबैको सहयोगको अपेक्षा पनि उनले गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका छन् । ठूलो भौतिक क्षति पुर्‍याएको छ । उनले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण र विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् ।

‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु । विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ ।’