पारदर्शिताको प्रश्न गर्दा वडाध्यक्षबाटै निर्घात कुटियो, हात भाँचियो
पोखरा फेवासिटी अस्पतालको एउटा क्याबिनमा उपचाररत दीनकर नेपाल बोल्दाबोल्दै भक्कानिए । रोक्न खोज्दा/खोज्दै उनका आँखाबाट आँसु झरिहाले । काँपेका ओंठबाट रोकिँदै-रोकिँदै शब्दहरू निस्के ।
केही वर्षयता युवा उद्यमशिलता, कृषि उत्पादन, युवा सोचको बहस चलाइरहेका दीनकर मंगलबार ३ असारमा निर्घात कुटिए । पारदर्शिताको सवाल उठाउँदा उनी वालिङ नगरपालिका-१० का वडाध्यक्षको आक्रमणमा परेका थिए ।
वडाध्यक्ष सुनिल खनालसहितले फलामको रड प्रहार गरेर उनको एउटा हात भाँचिदिएका छन् र अर्को हातमा गम्भीर चोट लागेको छ । हात केही दिनमा अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । जुन हातका औंला उठाउँदै उनले वालिङ नगरपालिका- १० मा भइरहेको आँधिखोला दोहनको प्रश्न गरेका थिए ।
सार्वजनिक गर्नुपर्ने दस्तावेजसमेत नपाएपछि झोलुंगे पुलैमुनिबाट मेसिन नै प्रयोग गरेर वालिङस्थित आँधिखोलामा दोहन भइरहेको थियो । त्यसैको विरुद्धमा कार्यक्रम गरेर फर्किँदै गरेका दीनकर र मेघ आलेमाथि वडाध्यक्षकै नेतृत्वमा आक्रमण भयो । दीनकरको खुट्टामा समेत चोट लागेको छ ।
पछिल्ला दुई दिनदेखि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेका दीनकर ज्यानै जानसक्ने आक्रमणपछि अझै असुरक्षित महसुस गरिरहेका छन् । घरी उनी समाजप्रति आक्रोशित हुन्छन् त घरी राजनीतिले अपराधलाई कसरी प्रसय दिइरहेको छ भनेर घोत्लिन्छन् ।



थर्ड पोल 