प्रतिनिधि सभा : टेबुल ठोक्दै संसद् ठप्प
जेठको चर्को घाम झैँ, प्रतिनिधि सभामा पनि दुई सातादेखि राजनीतिका तापक्रम चुलिँदै गइरहेको छ। बैठक सुरु हुनासाथ न दृश्य फेरिन्छ, न स्वर। सभामुखको घण्टीभन्दा अगाडि प्रतिपक्षका सांसदहरू उठ्छन्—र टेबुल ठोक्न थाल्छन्। त्यो ध्वनि झन् तीव्र हुन्छ जब सत्तापक्षका सांसदहरू पनि उही शैलीमा प्रतिकार गर्छन्।
दुई पक्षको तालमेल छैन, तर टेबुल ठोक्ने ताल भने चोखो छ। परिणाम—हल्ला मात्रै, छलफल शून्य। सभामुखले शान्त गराउने प्रयास गर्नु त परै जाओस्, उनी अब त केही मिनेटमै बैठक स्थगित गरिदिन्छन्। जेठ १३ यता मात्रै १२ पटक बैठक सूचना टाँसेर रोकिनु आफैँमा एक अभूतपूर्व स्थिति हो।
संसद् ठप्प हुँदा...
बजेट सत्र चलिरहेको छ। तर संसद् चल्न सकेको छैन। आर्थिक वर्षको बजेटमाथि छलफल ठप्प, विधेयकहरू फाइलमै थन्किएका छन्। न सांसदले जनताको आवाज संसद्मा पुर्याउन सकेका छन्, न सरकार जनतासँग संवाद गर्न पाएको छ।
संसद् अवरुद्ध हुँदा प्रभाव त प्रत्यक्ष जनतामै परेको छ, तर प्रधानमन्त्री केपी शर्मा ओली यो अवरोध हटाउनको पहलमा अग्रसर देखिँदैनन्।
संवादमै सक्रिय कांग्रेस
बरु, यो जटिल अवस्थालाई खोल्ने प्रयासमा कांग्रेस सक्रिय देखिएको छ। सभापति शेरबहादुर देउवा स्वयं प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' सँग पटकपटक संवाद गरिरहेका छन्। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेता ज्ञानेन्द्र बहादुर कार्कीको टोली पनि लगातार छलफलमा व्यस्त छ।
यस संवादकै फलस्वरूप विपक्षी दलहरूको माग केही नरमिएको देखिन्छ। गृहमन्त्रीको राजीनामाबाट पछि हट्दै, यदि छानबिन समिति गठन गरिने वा त्यसको सुनिश्चितता हुने हो भने अवरोध हटाउन तयार हुने बताएका छन्। माओवादी केन्द्र पनि यतिबेला छानबिन समिति नभए ‘निकाय वा संयन्त्र’ बन्ने सुनिश्चितता भए पुग्ने निष्कर्षमा पुगेको छ।
तर, सबै पार्टीहरू एउटै लहरमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै तयार देखिएको छैन।
अब के हुन्छ?
संसद् फेरि चल्ला? टेबुल ठोकाइको स्वरलाई संवादमा रूपान्तरण गर्न सक्ला? सत्तापक्षको चुप्पी र प्रतिपक्षको आवाजबीच यो सन्तुलन कहिले फर्कन्छ—अबको मुख्य प्रश्न यही हो।



थर्ड पोल 