पाकिस्तानको बलुचिस्तान लिबरेसन आर्मी अमेरिकाको 'आतंकवादी संगठन'को सूचीमा
अमेरिकाले पाकिस्तानको बलुचिस्तानमा सक्रिय बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)लाई विदेशी आतंकवादी संगठन घोषणा गरेको छ । सोमबार अमेरिकाले मजिद ब्रिगेडको उपनामले पनि चिनिने बीएलएलाई एक उग्रवादी समूह भनेको छ ।
अमेरिकी विदेश मन्त्रालयले कारबाहीले ट्रम्प प्रशासनको आतंकवादविरुद्ध लड्ने प्रतिबद्धतालाई झल्काउने बताएको छ ।
अमेरिकाले बीएलएलाई सन् २०१९ मा विशेषरूपमा सूचीकृत अन्तर्राष्ट्रिय आतंकवादी (एसडीजीटी) घोषणा गरेको थियो । त्यसबेला उसले पाकिस्तानमा भएका धेरै आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो ।
विदेश मन्त्रालयले सन् २०२४ मा बीएलएले कराची विमानस्थल र ग्वादर बन्दरगाह प्राधिकरण परिसर नजिकै भएका आत्मघाती हमलाहरूको जिम्मेवारी लिएको पनि बताएको छ ।
सन् २०२५ को मार्चमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस ट्रेनको अपहरणमा पनि बीएलएको हात थियो । त्यस घटनामा बीएलएले ३०० भन्दा बढी यात्रुहरूलाई बन्धक बनाएको र ३१ सर्वसाधारण र सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
पाकिस्तानी सेना प्रमुख आसिम मुनीर अमेरिकाको भ्रमणमा भएका बेला बीएलएलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णय लिएको छ । उनले वासिङ्टनमा अमेरिकाका शीर्ष राजनीतिक र सैन्य नेताहरूसँग भेट गरेका छन् ।



थर्ड पोल 