नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’ जारी 

नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’ जारी 

काठमाडौं । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाहरुले जनाएका छन् । यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए ।

जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ ।समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु भारतमा घुसेको सूचनाले सुरक्षा निकायमा हलचल पैदा भएको समाचारमा उल्लेख छ ।

तर उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने समाचारमा उल्लेख छैन । भारतको न्युज–एट्टिनको अनलाइन संस्करणमा लेखिए अनुसार उनीहरुको हुलिया र परिचयसहितको विवरण प्रहरीका सबै युनिटहरुमा पठाइएको र सतर्क रहन भनिएको छ ।