धादिङबाट ४० किलो गाँजा ल्याएर कोटेश्वरमा किनबेच गर्दागर्दै पक्राउ परे पाँच जना
काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्।
बिहीबार कोटेश्वरको पाल्पाकोटमा रहेको एक घरबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उक्त घरमा बस्ने धादिङका सुमन चेपाङको डेराबाट प्रहरीले उक्त गाँजा बरामद भएको हो। उनीसँगै अन्य चार जना पनि पक्राउ परेका छन्।
उनीहरू सबै जना धादिङकै हुन्। १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र सुमन चेपाङ अहिले हिरासतमा छन्।
उनीहरूबाट प्रहरीले एक लाख २५ हजार रुपैयाँ, तीन वटा मोबाइल र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ।
कोटेश्वरमा गाँजाको किनबेच भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनाको आधारमा परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले पाँचै जनालाई डेरामा फेला पारी पक्राउ गरेको हो।



थर्ड पोल 