थवाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तीन दिनपछि आए पालिकाको सम्पर्कमा
तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी पालिकाको सम्पर्कमा आएका छन्।
असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर लगायत सात जना कर्मचारी बुधबार मात्रै सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्षा ऋषिकेष बुढामगरले जानकारी दिए।
'उहाँहरू गुल्मी पुग्नुभएको रहेछ। केही समयअगाडि सम्पर्क भयो। लिवाङ हुँदै कार्यालयमा फर्कन्छु भन्नुभएको छ,' पालिका अध्यक्ष बुढामगरले भने।
२३ गते रातिदेखि प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरू सम्पर्कविहीन भएपछि पालिकाले सूचना नै जारी गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको थियो।
पालिकाले जारी गरेको सूचनाअनुसार २३ गते राति प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको भुक्तानी गर्न ओटिपी कोडका लागि भोलिपल्ट रूकुम पूर्वमा गई काम गर्ने भनेका थिए।
'यहाँ नेटवर्कको समस्या छ। नेटवर्क आउने जाने भइरहँदा भुक्तानीमा समस्या नहोस् भनेर हुन्छ भनेको थिएँ,' पालिका अध्यक्ष बुढामगरले भने।
प्रमुख प्रशासकीय अधिकृतसँगै सहायक प्रशासक हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सबइन्जिनियर चन्द्रप्रकाश ओली, सबइन्जिनियर निशा आचार्य, शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए।



थर्ड पोल 