त्रिशुलीमा बेपत्ता दुई बस अझै भेटिएनन्, बिहानैदेखि खोजी शुरु
काठमाडौं । त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार बिहानैदेखि पुनः शुरु भएको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको बसको विहानै देखि खोजी कार्य सुरु गरेको हो ।यस अघि शुक्रबार गरिएको खोजी कार्यमा बिरगंञ्जबाट आएको एन्जल बसको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएको प्रहरीले जनाएको छ ।
गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान पहिरो जाँदा दुवै बसमा गरी कम्तिमा ५१ यात्रुसहित दुई बस त्रिशूलीमा बेपत्ता रहेका छन् ।
त्रिशुलीमा हराई रहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा — ९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।
काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३—००६ख— १५१६ नम्बरको एन्जल्स डिलक्स बस त्रिसूलीमा खसेको हो ।
अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन् ।



थर्ड पोल 