जनार्दनलाई पन्छाउन प्रचण्डको कसरत, दुई पटक भनिसके– तपाईं पार्टी छाडेर जानुस्!

जनार्दनलाई पन्छाउन प्रचण्डको कसरत, दुई पटक भनिसके– तपाईं पार्टी छाडेर जानुस्!

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष र टकराव यति बेला उत्कर्षमा छ।

यही टकरावबीच शुक्रबार (आज) स्थायी कमिटी बैठक बस्दैछ।

यो टकराव कसरी प्रकट हुन्छ भन्ने चासो माओवादी केन्द्रका नेता–कार्यकर्तालाई मात्र छैन। अरू प्रमुख दलका नेता–कार्यकर्ता र राजनीतिमा चासो राख्ने धेरैलाई छ।

'बैठकमा यो टकराव कसरी प्रकट हुन्छ, त्यो त अध्यक्ष प्रचण्डकै चाहनामा भर पर्छ। तर दुई नेताबीचको टकराव र अन्तरसंघर्ष अब रोकिँदैन,' जनार्दन निकट एक नेताले भने, 'अध्यक्ष उहाँ (जनार्दन) लाई जसरी पन्छाइ छाड्ने र उहाँ पार्टीमा संघर्ष गरेरै अध्यक्षबाट ढिलोचाँडो नेतृत्व लिएरै छाड्ने दिशामा अग्रसर हुनुहुन्छ।'

प्रचण्ड र जनार्दनको मक्सद उनीहरू एकअर्कालाई पनि थाहा नभएको होइन।

प्रचण्डले आफू प्रधानमन्त्री भएकै बेला दुई पटक जनार्दनलाई 'पार्टी छाडेर जानुस्' भनिसकेका छन्।

जनार्दनले पनि जबाफ फर्काउँदै 'मैले होइन, अब पार्टी छाड्ने बेला तपाईंको आइसक्यो, तपाईं छाड्नुस् हामी चलाउँछौं' भनेका छन्।

यी दुई नेताबीचको यस्तो तिक्तता र टकरावबीच शुक्रबार सुरू हुने स्थायी कमिटी बैठकका लागि 'आन्तरिक एकता मजबुत तुल्याउने' एजेन्डा तय भएको छ।