जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाइयो जाँचबुझ आयोगमा

जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाइयो जाँचबुझ आयोगमा

भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो। उक्त सूची प्राप्त गरेको जाँचबुझ आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए।

उनका अनुसार सूची प्राप्त भएसँगै प्रहरीको बयान लिने तयारी छ।

‘त्यस दिन खटिएकाहरूको सूची प्राप्त भएको छ। आज बयानका लागि हामी सूची हेर्दैछौं,’ शर्माले भने। 

अन्य ठाउँमा खटिएकाहरूको विवरण प्रहरी प्रधान कार्यालयसँग माग गरेको उनले बताए। बयान क-कसको हुने भन्ने यकिन भइसकेको छैन।

यसअघि जाँचबुझ आयोगले बुधबार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण समेत सोधेको थियो।

विवरण माग गर्दा समयमा उपलब्ध नगरी आयोगको छानबिनमा बाधा पुर्‍याएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।