छुटे दुर्गा प्रसाईं

छुटे दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई छुटेका छन्।

प्रहरीलाई लक्ष्य गर्दै दिएको अभिव्यक्तिका कारण गत सोमबार पक्राउ परेका प्रसाईं सर्वोच्चको आदेशपछि आइतबार बेलुकी हिरासतमुक्त भएका हुन्।

सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि प्रसाईंका छोराले बन्दी प्रत्येक्षीकरणको रिट हालेका थिए।

त्यसमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशसँगै प्रसाईं गएराति नै छुटेका हुन्।

इजलासले दुर्गा प्रसाईंले राखेका आफ्ना मागबारे अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्न नमिल्ने व्याख्या गरेको थियो।

‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नु वा थुनामा राख्नु निवेदकको संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुन जाने र प्रसाईंको उक्त कार्य नेपालको संविधान आत्मसात गरेको मानव अधिकार, मौलिक हक तथा लोकतान्त्रिक पद्धतिको मूल्यमान्यता अनुकूल समेत देखिन नआएबाट निवेदकको थुनालाई कानुन बमोजिमको थुना भनी मान्न मिल्ने देखिएन। दुर्गा प्रसाईंलाई कानुन विपरीत प्रवृत्त धारणाबाट थुनामा राखेको देखिन आयो,’ इजलासले भनेको छ।