छ बीमा कम्पनीको पाए शेयर निष्कासन अनुमति, चार कम्पनी अनुमतिको पर्खाइमा

छ बीमा कम्पनीको पाए शेयर निष्कासन अनुमति, चार कम्पनी अनुमतिको पर्खाइमा


काठमाडौं । बीमा क्षेत्रमा चालु आर्थिक वर्ष जेठको पहिलो सातासम्म ६ वटा कम्पनीको हकप्रद शेयर निष्कासन अनुमति पाएका छन्। भने ४ कम्पनीको शेयर निष्कासन अनुमतिको पर्खाइमा रहेका छन्।

चालु आर्थिकमा नेपाल धितोपत्र बोर्डबाट हालसम्म जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी), सन नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएका छन्। यीमध्ये एलआईसीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गरिसकेको छ।

सन नेपाल लाइफले हाल कायम चुक्तापुँजीको २७ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गरिएको छ। एसियन लाइफले भने चुक्तापुँजीको ४२ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरिसकेको छ भने जारी गर्ने मिति भने निर्धारण गरेको छैन।

यसैगरी नेपाल धितोपत्र बोर्डले निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ। तीमध्ये एनएलजी इन्स्योरेन्सले चुक्तापुँजीको ६२.६५ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ र नेको इन्स्योरेन्सले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको हकप्रद शेयर जारी गरिसकेका छन्।

नेपाल इन्स्योरेन्सले भने चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन अनुमति पाएको छ। यद्यपि, यो कम्पनीले हकप्रद शेयर जारी गर्ने मिति तय गरिसकेको छैन।