गगन थापाले आजको केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका पेस गर्ने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गर्ने भएका छन्।
सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको औपचारिक तथा अनौपचारिक छलफलमा आजको केन्द्रीय समितिमा महामन्त्री थापा उपस्थित हुने र आफ्ना कुरा राख्ने समझदारी बनेको थियो।
त्यसअनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सुरूमा कार्यवाहक सभापति खड्काले कुरा राख्नेछन्। त्यसपछि उनले बोल्न महामन्त्री थापालाई समय दिनेछन्।
महामन्त्री थापाले आफ्ना कुरा राखेर १५ औं महाधिवेशन प्रस्ताव पेस गर्नेछन्। उनले यसअघि केन्द्रीय कार्यसम्पादन समितिमा विभिन्न विकल्पसहित महाधिवेशन प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी सहमत नहुँदा केन्द्रीय समितिमा महाधिवेशन प्रस्ताव पेस हुन सकेको छैन।
कात्तिक १३ गतेको केन्द्रीय समिति बैठकमै महामन्त्री थापाले महाधिवेशन प्रस्ताव पेस गर्न समय माग गरेका थिए। तर कार्यवाहक सभापति खड्काले केही दिन समय दिन भनेका थिए भने थापा उक्त दिन केन्द्रीय समितिमै अनुपस्थित रहे। त्यसपछि केन्द्रीय समिति बैठक रोकेर कार्यवाहक सभापति खड्काले नेताहरूसँग संवाद गर्दै आएका थिए तर १५ औं महाधिवेशन कार्यतालिकामा अझै सहमति जुट्न सकेको छैन।



थर्ड पोल 