किसानका समस्या सम्बोधन गर्न सञ्जालको माग
– राष्ट्रिय किसान सञ्जालले किसानका माग सम्बोधन गर्न माग गरेको छ । हिजो सञ्जालले पत्रकार सम्मेलन गर्दै १७ वटा माग अघि सारेको छ । सञ्जालका संयोजक डा प्रेम दङ्गालले झन्डै २३ लाख भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने तयारीमा रहेको भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गर्नुभयो । उहाँले भूमिहीन तथा सकुम्बासी जनताको जमिन प्राप्त गर्ने संवैधानिक हक कार्यान्वयन गर्न तथा अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
वर्षाका कारण भित्र्याउन तयार पारेको धानबालीमा ठूलो क्षति पुगेकाले यस्तो अवस्थामा क्षतिको विवरण सङ्कलन गरी वर्षा, बाढी, पहिरो, डुबानबाट क्षति पुगेका किसानलाई राहत तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम ल्याउन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत किसान राहत कोष स्थापना गर्न सञ्जालले माग गरेको छ ।



थर्ड पोल 