कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
बैंकिङ कसुरमा सजाय पाएका हरिश सिंह पालीको कैलाली कारागार चलान भएको भोलिपल्टै मृत्यु भएपछि प्रहरी र जेल प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ ।
बैंकिङ कसुर मुद्दा दिने नेपाल प्रहरीका सई कैलाली कारागारमै कार्यरत हुनु, घटनास्थलको सीसीटीभी फुटेज नहुनु र मृतकको शरीरभरी कुटपिट गरिएको जस्तो देखिनुले मृतकका परिवारले प्रहरीमाथि नै प्रश्न उठाएका हुन् ।
असार २ गते कारागारभित्रै अचेत अवस्थामा फेला परेका पालीको सोही दिन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारले भने योजनाबद्ध हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् ।
घटना के थियो ?
जिल्ला अदालत कैलालीले डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीलाई बैंकिङ कसुर मुद्दामा २०८० सालको फागुनमा दोषी ठहर गर्दै १० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथले बैंकिङ कसुर मुद्दा दिएका थिए । मुद्दाको फैसला भएदेखि नै फरार रहेका पालीलाई २९ जेठमा डडेल्धुरा प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई कैलाली प्रहरीकै एक टोलीले निजी गाडीमा राखेर कैलाली सदरमुकाम धनगढी ल्याएको थियो । धनगढी ल्याइपुर्याउँदा अदालत बन्द भइसकेकाले त्यस दिन जिल्ला प्रहरी कार्यालयले पालीलाई अदालतमा पेस गर्न पाएन । ३१ गते शनिबारको सार्वजनिक बिदा भएकाले पनि अदालतमा पेस गरिएन । त्यसैले ३० र ३१ गते राति जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षमा राखिएका पालीलाई प्रहरीले १ असारमा अदालत पेश गरेको थियो ।



थर्ड पोल 