करोड लगानीमा केरा खेती, पहिले सम्भव हुँदैन भन्नेहरू अहिले भन्छन्- गज्जब हुँदो रहेछ!
दाङका निर्माण व्यवसायी जनक बुढा आजकाल प्रायः बाँकेको कुसुममा भेटिन्छन्। उनी त्यहाँ निर्माण सम्बन्धी काममा होइन, केराको बगैंचामा हुन्छन्।
उनको धेरैजसो समय केरा बगैंचा हेरचाह, केरा संकलन र बिक्रीमा बित्छ। बगैंचामा कामदार खटनपटन पनि उनकै काम हो।
जनक बाँकेको राप्ती सोनारी गाउँपालिका–१, कुसुममा २५ बिघा क्षेत्रफलको एकै चाक्लोमा रहेको केरा खेतीका साझेदार हुन्।
'बाँकेमा एकै ठाउँमा सबभन्दा धेरै क्षेत्रफलको व्यावसायिक केरा खेती यही हो,' ४९ वर्षीय जनकले भने।
घोराही उपमहानगरपालिका–१२ का जनकले निकै लामो समय आफ्नै निर्माण कम्पनी 'अम्बे बिल्डर्स' चलाए।
उनका ठूलाबुवाका छोरा, उमेरले भाइ शेरबहादुर (नवीन) बुढा चितवनमा बस्थे। उनी पहिले घोराहीकै बासिन्दा थिए। उनैले दाङमा भाडामा जग्गा खोजेर केरा खेती गरौं भन्दै जनकलाई फोन गरिरहन्थे। एक पटक जनकले घोराहीमा आफ्ना साथीहरूलाई शेरबहादुरले भनेका कुरा सुनाए।
निर्माण व्यवसायी संघ, दाङका वरिष्ठ उपाध्यक्ष शोकबहादुर रोकामगर, अर्का निर्माण व्यवसायी ईश्वर पुन र टीका थापासँग सल्लाह भयो। उनीहरू संयुक्त रूपमा केरा खेती गर्ने निष्कर्षमा पुगे।
जनक, शेरबहादुर, शोकबहादुर, ईश्वर र टीका साझेदार भए।



थर्ड पोल 