कांग्रेसका चार केन्द्रीय सदस्यको प्रश्न- संरक्षण गर्ने नेता नभए अनुशासन कारबाही गर्ने हो?
नेपाली कांग्रेसले गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि अनुशासनको कारबाही गरेको विषयमा चार जना केन्द्रीय सदस्यले विरोध जनाएका छन्।
कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश रसाइली स्नेही र अजय बाबु शिवाकोटीले संयुक्त विज्ञप्ती जारी गरेर नेता कार्यकर्तामाथि भएको अनुशासन कारबाहीको निर्णयमाथि प्रश्न उठाएका हुन्।
उनीहरुले पार्टी अनुशासन समितिले गरेको निर्णयलाई असान्दर्भिक र खोटपूर्ण भनेका छन्।
‘पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय समेत भइसकेको अबस्थामा गठवन्धनको सवाललाई लिएर यतिखेर अनुशासनको डण्डा चलाइनु आफैमा राजनीतिक नैतिकताका दृष्टिले खोटपूर्ण छ,’ केन्द्रीय सदस्यहरूले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
२०७९ को चुनावमा भएको विषयलाई लिएर पार्टी नेता र अनुशासन समिति दोहोर मापदण्डमा चलेको आरोप पनि उनीहरुको छ। अनुशाशन समितिजस्तो गरिमामय संस्था विवादको घेरामा तानिनु दुःखद बिषय रहेको उनीहरुले बताएका छन्।



थर्ड पोल 