कांग्रेस–एमालेले गरे सरकारमा आउन प्रस्ताव , जसपा नेपालले खोज्यो प्याकेजमै सहमति

कांग्रेस–एमालेले गरे सरकारमा आउन प्रस्ताव , जसपा नेपालले खोज्यो प्याकेजमै सहमति

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन्। सोमबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले यसअघिका त्रुटि सच्याउन (कोर्स करेक्सन) आफूहरू तयार रहेको भन्दै सहकार्यका लागि आग्रह गरेको जसपा नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले जानकारी दिए।

‘हामी सँगै थियौं, किन समर्थन फिर्ताको निष्कर्षमा पुग्नुभयो भन्ने उहाँहरूको कुरा थियो। सहकार्य गरेर जाऔं, हिजोका कमीकमजोरी दोहोरिन दिनेछैनौं भन्नुभयो,’ यादवले सेतोपाटीसँग भने, ‘हामीले तपाईंहरूले प्रतिबद्धता अनुरूपको काम गर्नुभएन, गठबन्धनका निर्णयमा सामेल गराउनुभएन, जनसांख्यिक आधारमा बजेट वितरण भएन, मधेस अन्यायमा पर्‍यो भन्यौं।’

दुई ठूला दल, कांग्रेस र एमाले मिलेर सरकार चलाएपछि आफूहरूले बिनास्वार्थ, बिनाबार्गेनिङ बाहिरै बसेर समर्थन गरेको तर सरकार प्रतिबद्धताबाट एकपछि अर्को गरी पछि हट्ने मात्रै होइन जसपा नेपाललाई जहाँ पनि असहयोग गर्ने गर्न थालेपछि समर्थन दिइराख्नुको औचित्य नदेखेको कुरा बैठकमा बताएको यादवले भने।

फेरि सहकार्यको ढोका खोल्ने हो भने प्याकेजमै सहमति हुनुपर्ने अडान आफूहरूले राखेको यादवको भनाइ छ।