एसईईको नतिजा प्रकाशनमा ढिलाई, असार तेस्रो सातासम्म मात्रै प्रकाशित गर्ने तयारी

 एसईईको नतिजा प्रकाशनमा ढिलाई, असार तेस्रो सातासम्म मात्रै प्रकाशित गर्ने तयारी

काठमाडौं । । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो । 

गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । परीक्षा बोर्डका अनुसार शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको हो ।

गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा सडक आन्दोलन गरेका थिए । जसका कारण उत्तर पुस्तिका समयमा परीक्षण हुन सकेको थिएन । ढिला गरी उत्तर पुस्तिका परीक्षा सुरु भएको थियो । उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।  

बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ । यद्यपि, तोकिएको मिति भने अझै निश्चित भएको छैन ।  गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ । 

बोर्डले वार्षिक कार्य तालिका अनुसार २०८२ असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने र असार २२ गतेसम्म पुनर्योग गर्ने तथा साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो । साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका थियो । तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि अन्य कार्यक्रममा समेत ढिलाइ हुने देखिएको हो ।