उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक, के छ सर्त ?

उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक, के छ सर्त ?

 नेपाल राष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३ अर्ब ५३ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपमा लगानी गरिनेछ ।

वाणिज्य बैंकमा २ अर्ब ८२ करोड, विकास बैंकमा ५२ करोड र वित्त कम्पनीमा १७ करोड मुद्दती निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

२३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्युनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।

त्यस्तै निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने पनि जनाइएको छ । शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।