उनी दुनियाँलाई जुम्ला देखाउन गए, दुनियाँले उनलाई हेरे
‘कोइ सुन्दैन, कोइ सुन्दैन कान्नाली रोयाको आवाज’ यो विरही भाका सुनिरहँदा हृदयेन्द्र शाह अरु शान्त र सौम्य देखिए । उसो त उनी कर्णाली रोएको होइन, हाँसेको हेर्न गएका थिए । दुनियाँलाई ‘लुकेको स्वर्ग’ देखाउन गएका थिए । दुनियाँले कर्णाली होइन बरु उनैलाई हेरे । एकदमै उत्सुकताले ।
यसअघि यति नजिकबाट हृदयेन्द्रले समाजसँग साक्षात्कार गरेको देखिएको थिएन । उनको बोलीचाली कस्तो छ ? हिँडाइ-हँसाइ कस्तो छ ? लवाइखुवाइ कस्तो छ ? धेरैलाई थाहा थिएन । थाहा नहुनु नै एउटा लुकेको सौन्दर्य थियो । जसरी लुकेको छ कर्णालीको भूगर्भमा प्रकृतिका मनोरम छटाहरू
राजसी विरासत लिएर जन्मिएका, दरबारको सेरोफेरोमा खाइखेली हुर्किएका, विलासी जीवन भोगचलन गरिरहेका उनी नेपाली समाजकै यस्ता दुर्लभ पात्र हुन्, जो आफूले नचाहेरै चर्चाको उत्कर्षमा रहने गर्छ । उनी को हुन् ? धेरैलाई थाहा छ । उनी कस्ता छन् ? धेरैलाई थाहै छैन ।
पञ्चकली बुढा सोध्छिन्, ‘तपाईंको नाम के हो ?’
उनी मुस्कुराउँदै भन्छन्, ‘हृदेयन्द्र वीरविक्रम शाह ।’
‘नाम चाहिँ सुनेको हो, एकदमै खुसी लाग्यो भेट्न पाएर । आजै आउनुभयो ?’ पञ्चकलीको प्रश्न ।
‘आजै आएको’ हृदयेन्द्रको संक्षिप्त जवाफ ।
पञ्चकली नव आगन्तुकसँग वातचित गर्न उत्सुक छिन् । उनी सोध्छिन्, ‘प्लेनमा आउनुभएको हो ? प्लेनमा आउँदा हल्लाएन र ?’
‘एकदम हल्लायो, लास्टतिर’ हृदयेन्द्र उही मुस्कानका साथ जवाफ फर्काउँछन् ।
त्यसपछि पञ्चकलीले उनलाई गुम्बाको त्यो अग्लाइबाट कर्णालीको सेरोफेरो औंल्याउँदै भन्छिन्,
‘त्यो चाहिँ हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपचारका लागि धेरै ठाउँबाट त्यही आउँछन् । माथि डाँडामा टावर जस्तो देखिन्छ नि, त्यो नेटको हो । त्यहाँ धर्म संस्कार अनुसार मेला पनि लाग्छ । भदौमा । उता डाँडामा हिँउ परेको हिमाल देखिन्छ नि, त्यो कान्जिरोवा ।’
लुकेको स्वर्गको खोजी । जुम्लाको यात्रा हृदयेन्द्रसँग ।
यही शीर्षकको भ्लगमार्फत हृदयेन्द्रले पहिलो पटक समाजसँग अत्यन्तै नजिकबाट साक्षात्कार गरेका छन् । उनी जुम्लाको सौन्दर्य खोज्न निस्किएका हुन् वा आफैंलाई खोज्न ?



थर्ड पोल 