इलामको बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ३९ पुग्यो, २६ घाइते, १०८ घरमा क्षति
काठमाडौं । लगातारको वर्षासँगैको बाढी पहिरोले इलाममा मात्र ३९ जनाले ज्यान गुमाएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार १० पालिका रहेको इलाममा चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाबाहेकका सबै पालिकामा क्षति भएको छ ।
प्रमुख जिल्ला अधिकारी नेपालले एक सूचनामार्फत क्षतिको विवरण सार्वजनिक गरेकी हुन् । यो घटनामा ३९ जनाको ज्यान गएको छ भने पहिरोमा परेर एक जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका छन् ।
१०८ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार क्षति भएको तथ्यांकमा रहेका १०८ घर मृतकका घर र पूर्ण क्षति भइ हाल आफन्त, छिमेकी र सामुदायिक भवनमा रहेका परिवार सदस्यको मात्र समावेश छ ।
बाढीपहिरोमा परेर सबैभन्दा धेरै देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा ८र८ जनाले ज्यान गुमाएका छन् । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ७–७ जनाको ज्यान गएको छ भने सूर्योदय नगरपालिकामा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
माङसेबुङ गाउँपालिकामा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते छन् । फाकफोकथुम गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिकामा १० जना घाइते छन् । एक जना अझै बेपत्ता छन् । यो प्रारम्भिक क्षतिको विवरण रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय इलामले क्षतिको स्थलगत मुचुल्का हुन बाँकी रहेको जनाएको छ ।



थर्ड पोल 