आफैंलाई जलाउनुअघि लक्ष्मण पासवानले स्वीकारे रुवीको हत्या
काठमाडौं । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।
रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् । ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०–१५ वर्ष सजाय भोग्नुपर्छ’ उनले भिडियोमा भनेका छन् ।
उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् । ‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,’ उनले भनेका छन् ।
स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन् । तर आफू गरिब भएकाले पारिवारिक तनावमा परेकाले रुवीको हत्या गरेको बताएका छन् ।
गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव भेटिएको थियो ।



थर्ड पोल 