आफूनिकट नेता, कार्यकर्ता अनुशासन कारबाहीमा परेपछि आन्तरिक छलफलमा शेखर कोइराला

आफूनिकट नेता, कार्यकर्ता अनुशासन कारबाहीमा परेपछि आन्तरिक छलफलमा शेखर कोइराला

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ को तीनै तहको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असयोग गरेको भन्दै १८ जना नेताकार्यकर्तालाई कारबाही गरेपछि नेता शेखर कोइराला आन्तरिक छलफलमा जुटेका छन्।

कोइरालाले बालुवाटारस्थित बिशालनगरमा रहेको आफ्नो सचिवालयमा आफूनिकट नेताहरूलाई बोलाएर बिहीबार छलफल गरेका हुन्।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पनि पुगेका छन्।

नेता कोइरालाले केही केन्द्रीय सदस्य तथा सांसदहरूसँग छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए।

आनन्दप्रसाद ढुंगाना संयोजकत्वमा रहेको कांग्रेस अनुशासन समिति पाँच सदस्यीय छ। तीन जना सभापति शेरबहादुर देउवा निकट छन् भने दुई जना नेता कोइरालानिकट छन्।

कोइरालानिकट अनुशासन समितिका सदस्यहरूको असहमतिकैबीच बहुमतका आधारमा पार्टीका नेता कार्यकर्ताहरूमाथि अनुशासन कारबाही गरिएको भन्दै आलोचना भएको छ।

अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि अनुशासन कारबाहीको निर्णय गरेको थियो।