आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ।

प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन्।

जसमा सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, सांसद प्रेम सुवालले पनि विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयका अनुसार सांसद अमनलाल मोदीले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।