अमेरिकाबाट डिपोर्ट भएका चार भुटानीलाई जरिवाना, यात्रा कागजात पेश गरे भुटान पठाइने

अमेरिकाबाट डिपोर्ट भएका चार भुटानीलाई जरिवाना, यात्रा कागजात पेश गरे भुटान पठाइने

 अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गरेका चार व्यक्तिलाई जरिवाना गराउने निर्णय भएको छ ।

अध्यागमन कानून उल्लंघन गरेको आरोपमा जरिवानासँगै कागजात पेश गरे भुटान निष्कासन गर्ने निर्णय भएका अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले बताए । यद्यपि, भुटानको राहदानी वा यात्रा कागजात पेश नगरेसम्म तोकिएको स्थान हदभित्र रहने गरी नेपालमै बस्न दिने समेत निर्णय भएको उनले जनाए ।

भारत हुँदै झापा आइपुगेका आशिष सुवेदी, सन्तोष दर्जी, रोशन तामाङ र अशोक गुरुङलाई १५ चैत २०८१ मा जिल्ला प्रहरी कार्यालय, झापाले पक्राउ गरेको थियो । प्रहरीले विना कागजात आएको आरोपमा पक्राउ गरेर उनीहरुलाई अध्यागमन कार्यालय, मेचीनगरमा बुझाइदिएको थियो ।

आशिषका बुबा नारायणकुमार सुवेदीले अनलाइनखबरलाई बताएअनुसार, उनीहरुलाई अमेरिकाबाट डिपोर्ट गरेर नयाँ दिल्ली हुँदै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याइएको थियो ।