अनुशासन कारबाही सिफारिस भए पनि निर्णय नभएकाको क्रियाशील नरोक्ने कांग्रेसको निर्णय

अनुशासन कारबाही सिफारिस भए पनि निर्णय नभएकाको क्रियाशील नरोक्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले अनुशासन कारबाहीका लागि सिफारिस आए पनि कारबाही निर्णय भइनसकेका कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ।

अनुशासन समितिमा उजुरी परेका नेता, कार्यकर्ताहरूको क्रियाशील सदस्यता नवीकरण मातहत समितिले रोक्दै आएको थियो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबारको बैठकले अनुशासन कारबाही सिफारिसमा परेका तर कारबाही निर्णय भइनसकेकाहरूका हकमा क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।

‘अनुशासनसम्बन्धी कारबाही सिफारिस भएका तर अनुशासन समितिले कारबाही गरिनसकेका कार्यकर्ताको हकमा अहिलेसम्म नवीकरण नगरिएकोमा अब नवीकरण गर्न प्रक्रिया अघि बढाउन मातहत समितिहरूलाई निर्देश गर्ने निर्णय भएको छ,’ क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले सेतोपाटीसँग भने, ‘अनुशासन समितिले भोलिका दिनमा कारबाही निर्णय गरेका खण्डमा त्यसअनुसार नै अघि बढ्ने निर्णय भएको छ।’

अनुशासनसम्बन्धी कारबाही सिफारिस भएकाहरूलाई अनुशासन समितिले प्रकृति हेरेर ६ महिनादेखि ५ वर्षसम्म पार्टीको सदस्यताबाट हटाउने निर्णय लिन सक्छ। तर यो निर्णय पार्टी केन्द्रीय समितिले निर्णय गरेपछि कार्यान्वयन हुने व्यवस्था छ। 

कांग्रेसमा केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा अनुशासन समिति छ। उक्त समितिमा करिब २१ सय जनाविरूद्ध चुनावमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेकाजस्ता उजुरी छन्। तीमध्ये अहिलेसम्म लुम्बिनी महामन्त्री विक्रम खनालसहित केहीलाई कारबाही गरिसकेको छ।