‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई अहिले प्रश्नको घेरामा छन्।
भ्रष्टाचारजन्य अपराधको अनुसन्धान गर्ने संवैधानिक निकायका प्रमुख रहेका राईमाथि विशेष अदालतले ‘चयनमखी अभियोजन’ गरेको भन्दै प्रश्न उठाएको छ।
अदालतले अख्तियारकै प्रमुखमाथि प्रश्न उठाएपछि अहिले राईको आलोचना भइरहेको छ। उनी अब पदमा बस्न मिल्ने वा नमिल्ने भन्ने विषयसम्म बहस हुन थालेको छ।
नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको मुद्दामा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनालाई प्रतिवादी बनाइएको थियो।
अख्तियारले अभियोजन गरी २०८० चैत २२ गते एक अर्ब ४७ करोड १० लाख ८५ हजार ८४२ रकम बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो।
यो मुद्दाको फैसला विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गत मंसिर २० गते गरेको थियो। अहिले उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।
फैसलामा विशेष अदालतले न्यायिक टिप्पणी गरेको छ। जसमा अख्तियार प्रमुख राईकै भूमिकामाथि प्रश्न उठाइएको हो।
फैसलामा एउटै काम गर्दा कसैलाई मुद्दा चलाइएको र कसैलाई त्यही काम गर्दा पनि नचलाइएको भनेर विशेष अदालतले प्रश्न उठाएको हो।



थर्ड पोल 