हवाई फायर गरी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

हवाई फायर गरी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

 बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बहराइचबाट लागूऔषध खैरो हेरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट एक जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागी रोक्न खोजेको थियो । प्रहरीका अनुसार ती व्यक्तिले चेतावनीका बाबजुद मोटरसाइकल नरोकेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो ।

त्यसपछि मोटरसाइकलसहित नियन्त्रणमा लिई खानतलासी गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राईको साथबाट लागूऔषध खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।