पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेमा शेखर कोइरालादेखि सबैको सहमति जुट्नेछ: सहमहामन्त्री पाण्डे

पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेमा शेखर कोइरालादेखि सबैको सहमति जुट्नेछ: सहमहामन्त्री पाण्डे

नियमित वा विशेष के महाधिवेशन गर्ने र चुनावअघि वा पछि कहिले गर्ने भन्नेमा नेपाली कांग्रेस अलमलिएको छ।

असोज २८ गते केन्द्रीय समिति बैठकमा उपस्थित भएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेपछि खड्काकै अध्यक्षतामा केन्द्रीय समिति बैठक बस्दै आएको छ तर १५ औं महाधिवेशन कार्यतालिका अझै जारी भएको छैन।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गरेका छन् तर सभापति देउवानिकट सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त भन्दै समय माग गरी धारणा राखेको अवस्था छ।

सभापति देउवाले कार्यवाहक सभापति तोक्दै गर्दा समयमै महाधिवेशन गर्न भनेका थिए। २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन भएको र विधानअनुसार नियमित कार्यकाल ४ वर्ष भएकोले मंसिरभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने मत पनि कांग्रेसभित्र छ। तर चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने मुख्य मतभेद छिनोफानो गर्न नसक्दा कांग्रेस अलमलिएको अवस्था छ।

यसै सेरोफेरोमा रहेर नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेसँग सेतोपाटीले गरेको कुराकानी:

नेपाली कांग्रेसमा नियमित र विशेष महाधिवेशन माग भइरहेको छ, नियमित गर्ने कि विशेष महाधिवेशन? तपाईंलाई के लाग्छ?

नियमित महाधिवेशनकै कुरा अघि बढेको छ। मैले मात्र होइन कि अधिकांशले नियमित नै भन्नुभएको छ। विशेष महाधिवेशन माग गर्ने साथीहरूले पनि समयमै नियमित महाधिवेशन हुन्छ भने नियमित नै गरौं भन्ने खालको कुरा गर्नु भएको छ।